• ११ चैत २०८२, बुधवार

कांग्रेसभित्र विशेष महाधिवेशनको दबाब

तत्काल नेतृत्व परिवर्तन नभए पार्टी थप संकटमा पर्ने महामन्त्री थापाको भनाइ संगठन चलायमान बनाउने तर नेतृत्वसँग द्वन्द्व नबढाउने कोइरालाको चाहना

काठमाडौँ — कांग्रेस रूपान्तरणको मुद्दा बोकेर देश दौडाहा गरेका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले नेतृत्व बदल्नका लागि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।आफ्नै समूहका नेताहरूबाट आएको विशेष महाधिवेशनको मागप्रति महामन्त्री थापा सकारात्मक भए पनि कोइराला तयार छैनन् । उनले नेतृत्वको विषयलाई लिएर पार्टीभित्र धेरै द्वन्द्व बढाउने पक्षमा आफू नभएको बताएका छन् ।

थापाले भने तत्काल नेतृत्व परिवर्तन नहुने हो भने पार्टी थप संकटमा पर्ने विचार राख्दै आएका छन् । नेता–कार्यकर्ताले विशेष महाधिवेशन माग गरेकाले त्यसको नेतृत्व लिन सातै प्रदेशमा पार्टी रूपान्तरणको अभियान सकेर फर्केका नेताहरूले कोइरालालाई दबाब दिएका छन् । त्यसमा कोइरालाले अनिच्छा राख्दा संस्थापनइतर पक्ष नै दुई खेमामा विभाजित हुने संकेत देखिन थालेको छ ।

केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, नेविसंघका पूर्वअध्यक्षहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, पूर्वसांसद जगदीशनरसिंह केसी, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाही, युवा नेता देवराज चालिसेलगायतको समूहले डेढ महिनाअघि पार्टी रूपान्तरणका लागि प्रदेशस्तरीय अभियान सुरु गरेका थिए ।

सातवटै प्रदेशको अभियान गत बुधबार सकिएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू विदेशमा समेत भएकाले असार ३ मा ‘भर्चुअल’ माध्यमबाट ‘डायस्पोरा’ सम्मेलन गर्ने अभियानकर्ताको कार्यक्रम छ । त्यसलगत्तै दोस्रो चरणको जिल्ला अभियानमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने तयारी छ । अभियानमा खटिएका नेता गुरुराज घिमिरेले तल्लो तहका ९० प्रतिशत नेता–कार्यकर्ताबाट वर्तमान नेतृत्व बदल्नुपर्ने र त्यसका लागि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव आएको बताए ।

अभियान सुरु गर्दा नै पार्टी सभापति शेरबहादुर देउवा सशंकित थिए । नेतृत्व बदल्ने मुद्दा उठ्न सक्ने बुझेरै उनले कोइरालालाई अभियान रोक्न आग्रह गरेका थिए । ‘कोइरालाले पार्टी रूपान्तरणको दिशामा मात्रै अभियानलाई केन्द्रित गर्ने भन्दै आश्वस्त पारेपछि देउवा रोकिएका हुन्,’ दुई नेताबीचको संवादबारे जानकार एक केन्द्रीय सदस्यले भने ।


Tags: