२२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयले चाहे गत माघमा हराएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका दुई छोरामाथि अनुसन्धान हुने देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले २७ असारमा ९ जना विरुद्ध आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।यसमा भन्सार छलीको कसुर पनि आकर्षित हुने भएकाले भन्सार कार्यालयले फेरि अनुसन्धान गरेर सुन ल्याउने समूह वा त्यसका सहयोगीलाई कानुनी दायरामा ल्याउन सक्ने सरकारी वकिलको कार्यालयले बताएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा संगठित अपराध र आपराधिक विश्वासघातमा मात्रै मुद्दा चलेकाले अझै भन्सार छलीको कसुरमा अनुसन्धान गर्न सकिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने बताउँछन् ।
फेरि अनुसन्धान हुँदा महराका छोरा राहुल र निर्मल महरा पनि छानबिनको दायरामा आउन सक्छन् । विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले भने भर्खर हाजिर भएकाले यसबारे बुझ्न नपाएको बताएका छन् ।
Login To Leave a Comment