अब चाडपर्व नजिकिँदै गर्दा आयातको दैनिक परिमाण दोब्बरले बढाइएको छ। राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै बढाएको सुनको कोटा कार्यान्वयनमा आएको हो। एकीकृत परिपत्रअन्तर्गतको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गरिएको राष्ट्र बैंकले बताएको छ। यससँगै वाणिज्य बैंकले मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरूपको एकमुष्ट रूपमा समेत सुन आयात गर्न सक्नेछन्। तर, यस्तो एकमुष्ट रूपमा आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने भएको छ।
‘व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन। तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,’ संशोधित एकीकृत परिपत्रमा प्रष्ट्याइएको छ।
पछिल्लो समय चाडपर्व, विवाहजस्ता सिजनमा मागअनुसार नपुगेको भन्दै सुन व्यवसायीले पटकपटक कोटा बढाउन माग गरेका थिए। अहिले बजारमा चाडपर्व तथा विवाह नजिकिँदै गर्दा सुनको माग बढ्दै गएकाले कोटा बढाउनु उपयुक्त रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन्। उनका अनुसार सरकारले कोटा निर्धारणको निर्णय गरेर पठाएकाले अब केन्द्रीय बैंकले परिपत्र गरेर कार्यान्वयनमा लगेको छ।
सुनको आयातको दैनिक परिमाण बढाएकोमा व्यवसायी उत्साहित भएका छन्। यसैक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य अब चाडपर्व, विवाहको सिजन भएकाले दैनिक २० किलो सुन आयात हुँदा बजारमा आपूर्ति सहज हुने बताउँछन्।
Login To Leave a Comment