• ८ वैशाख २०८१, शनिवार

नेपाललाई ऐतिहासिक सफलता, धादिङका दिपकले जिते स्वर्ण

काठमाडौं । धादिङका दीपक अधिकारी एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गत महिना मात्रै राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्कणको उपाधि जितेका उनले मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा जापानी धावकलाई उछिन्दै पुरुष सिनियरमा स्वर्ण जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे । नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।

एसियन एथलेटिक्स संघले सन् १९९१ मा फुकुओका (जापान) बाट सुरु भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सातौं संस्करण पनि २२ वर्षअघि नेपालले आयोजना गरेको थियो । यही गोकर्ण फरेस्ट रिसोर्टमा सन् २००१ मा भएको च्याम्पियनसिपमा महिला जुनियरको टिम स्पर्धामा नेपालले कांस्यपदक हात पारको थियो । त्यसयता नेपालले एसियन क्रस कन्ट्रीमा यसैपाली पदक जितेको हो ।

Tags:

Related Post